भारतले नेपाललाई दियो तीन अर्ब भन्दा धेरैको चेक

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको अवसर पारेर भारतले नेपाललाई ३ अर्ब २६ करोड ६५ लाख रुपैयाँ दिएको छ ।

भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूतले सो रकम पुर्ननिर्माण प्राधिकरणका सिइओ लाई हस्तान्तरण गरे ।

नेपाल भारत संयुक्त आयोगको पाचौं बैठकमा सहभागी हुन आएका भारतीय विदेश मन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा सो रकम नेपाललाई हस्तान्तरण गरिएको हो ।

यसैगरी, हुलाकी राजमार्ग निर्माणका लागि भारतले यसअघि जनाएको प्रतिबद्धताअनुसार नेपाल सरकारलाई ८० करोड ७० लाख ७७ हजार रुपैयाँ दिएको छ ।

त्यसैगरी भारत सरकारले भुकम्पपछिको पुर्नर्निमाणका लागि जनाएको प्रतिबद्धता अनुसार महालेखा नियन्त्रकको कार्यालयमार्फत २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ दिएको छ । दुबै रकम चेकमार्फत उपलब्ध गराइएको हो ।

नेपाल भारत संयुक्त आयोगको बैठक शुरु हुनुअघि एक कार्यक्रमबीच भारत सरकारले ती रकम नेपाललाई हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रमलगत्तै द्धिपक्षीय बैठक शुरु भएको छ ।