नेकपा सचिवालय बैठक: ४ जना केन्द्रीय समितिमा मनोनित, केही इन्चार्जहरुको हेरफेर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपालले केन्द्रीय समितिमा ४ जनालाई थप गरेको छ । नेकपाले केही इन्चार्ज र सहइन्चार्जहरुको समेत हेरफेर गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सोमबार बसेको सचिवालय बैठकले ४ जना लाई केन्द्रीय समितिमा नियुक्त गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले केही पहिले पार्टी प्रवेश गरेका ४ नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । मनोनित हुनेमा पदम राई, किरण राई, कल्पना धमला र देवेन्द्र पराजुली रहेका छन् । प्रवक्ता श्रेष्ठले जनवर्गिय संगठनको इन्चार्ज, सहइन्चार्जमा हेरफेर भएको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार राष्ट्रिय सुरक्षा विभागको इन्चार्जमा भानुभक्त ढकाल र सहइन्चार्जमा रामकुमार राई नियुक्त भएका छन् । कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी तथा सूदूरपश्चिम सम्पर्क कमिटी इन्चार्जमा वीरमान चौधरी नियुक्त भएका छन् ।

अखिल नेपाल महिला संघको सहइन्चार्जमा अमृता थापा र सीता पौडेल तथा दलित संघको सहइन्चार्जमा तिलक परियार थपिएका छन् । कास्कीको सहइन्चार्जमा चुडामणि जंगली विश्वकर्मालाई नियुक्त गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको थियो ।