काठमाडौं : रसुवामा टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने तीन जना बेपत्ता भएका छन्।
सोमबार साँझ पोखराबाट रसुववाको आमाछोदिङ्गो गाउँपालिका जाँदै गरेको बा १० च ५८२० को टाटासुमो गोसाइँकुण्ड गाउँपालिका गुम्चेतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रसुवा प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए।
मृत्यु हुनेहरुमा गोल्जुङका ३२ वर्षीय नुर्बु तामाङ, ३२ वर्षीया साँईली घले र ३५ वर्षीय मेन्दो घले छन् । टाटासुमो सडकबाट करिब डेढ सय मिटर तल त्रिशुली नदीमा खसेको थियोे ।
जीपमा सवार ११ जनामध्ये अन्य तीन जना नदीमा वेपत्ता भएको बताइएको छ । सेना र प्रहरीको टोलीले बेपत्ता भएकाहरुको खोजी गरिरहे पनि फेला पार्न सकेको छैन ।
दुर्घटनामा घाइते भएका ५ जनामध्ये तीन जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने दुई जनाको नुवाकोटमा उपचार भइरहेको छ ।