बाढी र पहिरोमा परी देशैभरमा १९ जनाको मृत्यु , ८ जना बेपत्ता

काठमाडौं / अविरल वर्षापछिको बाढी र पहिरोमा परी देशैभरमा १९ जनाको ज्यान गएको छ ।

प्रदेश १, २ र ३ का विभिन्न जिल्लामा गरी १९ जनाको मृत्यु भएको जनाइएको हो ।

काठमाडौं उपत्यकामा चार, खोटाङमा तीन, भोजपुर र काभ्रेमा दुई–दुई, इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवानपुर र धादिङमा एक–एकजनाको मृत्यु भएको नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिएका छन् ।

बाढीपहिरोमा परी आठ जना बेपत्ता भएका छन् । यस्तै बाढीपहिरोमा परी सयौं घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् ।

पहिरोले राजमार्ग अवरुद्ध हुँदा राजधानीसहित विभिन्न जिल्लामा यातायात अवरुद्ध भएको छ । तराईका विभिन्न जिल्ला र राजधानीका केही ठाउँ डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ ।

प्रशासनले नदी छेउ आसपासका सर्वसाधारणहरुमा अलर्ट जारी गरेको छ भने सुरक्षाकर्मीलाई पनि अलर्टमा राखिएको छ ।