भो अहिल्यै न नाच ‘फूलमती’

फुलमती ! तिमी छमछमी नाचेको हेर्ने रहर मलाई नि थियो । तर मनमा पिरको पहाड बोकेकी तिमीलाई अहिल्यै खुरुक्क छमछमी नाच म कसरी भनुँ ? अहँ, म सक्दिन फूलमती तिमीलाई नाच भनेर निर्देशात्मक आदेश जारी गर्न म पटक्कै सक्दिन ।

मनैमा पिर कति–कति
नाचौं कि न नाचौं चनमती…
जबदेखि तिम्रो त्यो साङ्गीतिक प्रश्न सुने । म घोत्लिरहेको छु । त्यही प्रश्नको भुमरीमा । हुन त सिधा हेर्दा प्रश्न चनमतीलाई गरेझै देखिन्छ तर म बुझ्छु त्यो प्रश्न मात्र चनमतीलाई होइन । त्यो मलाई नि हो । त्यो उसलाई नि हो । त्यो उहाँलाई नि हो । त्यो प्रश्न हामी सबैलाई हो । हेर्दा प्रश्न सरल जस्तो देखिन्छ तर त्यो प्रश्न साँच्चैमा सरल भने छैन । के नारीहरु स्वतन्त्रतापूर्वक बाँच्न, हाँस्न र नाच्न पाउने ब्यवस्था देशमा आइसकेको हो ? बिभेदका सबै खाडलहरु पुरिएर देशमा के समतामूलक समाज निर्माण भइसकेको छ त ? के देशमा आमा, दिदी, बहिनीहरु सुरक्षित तरिकाले हिडडुल गर्नसक्ने अवस्था आइसकेको छ त ? तिम्रो त्यो प्रश्नले यस्ता अनगिन्ती प्रश्नहरु उब्जाइदिएको छ फुलमती ! जब म यी सबै प्रश्नहरुभित्र घोत्लिदै गए अनि निष्कर्षमा भन्न बाध्य छु ः भो अहिल्यै न नाच फुलमती, तिमी खुलेर नाच्ने समय अझै आइसकेको छैन ।

फुलमती ! देशले अहिले जुन पीडा खेपिरहेको छ । त्यसले पनि तत्काल हामीलाई खुलेर नाच्ने अनुमति दिँदैन । बाढीको चपेटामा परी तराई डुबेको छ । पहिरोले पहाडलाई क्षतविक्षत पारेको छ । बाढीपहिरोमा परी कैयौँले ज्यान गुमाएका छ्न् । अरबौंको भौतिक सम्पत्ति ध्वस्त भएको छ । गुल्मी, बाग्लुङको चहराइरहेको घाउमा मलम लगाउने बेला हो यो । रौतहट, सर्लाही जलाम्मे भएर डुब्दा काठमाडौं, भक्तपुर हाँस्न सक्दैनन् । प्राकृतिक विपत्तिको सामना मिलेर गर्नु छ । हिमाल, पहाड र तराईबीचको एकतालाई अझै कसिलो र दरिलो पार्नुछ । देशमा विपत्ति आइलागेका बेला, देश दर्दनाक पीडामा छट्पटाइरहेका बेला हामी खुशी मनले कसरी नाच्न सकिन्छ ? सकिँदैन ! त्यसैले त भन्दैछु– भो अहिले न नाच फुलमती ! त्यसरी नाच्ने परिस्थिति अहिले छैन ।

फुलमती ! यतिबेला गाउँहरु शून्य छन् । देशभित्रै रोजगारीको अवसर नपाएसी लाखौंलाख युवाहरु घरगाउँ छोडेर प्रदेशिन बाध्य छन् । श्रीमानहरु देश छोडेर प्रदेश लागेपछि तिनका श्रीमतीहरु कोखिलामा नानीबाबु च्यापेर शहर पसेका छन् । पिढी कुर्ने बुढा बाउआमाले खेती गर्नसक्ने कुरै भएन । पाखो बारीहरु बाँझै छन् । गाउँमा बृद्ध बाउआमाको आँखा ओभानो छैन । उता विदेशको पीडा झनै कहालीलाग्दो छ । पचास÷पचपन्न डिग्रीको तातो घाममा अरबको खाडीमा पसिना बगाइरहेको छ छोराले । चाडवाडका बेला आफ्ना जहान, लालाबालाहरुसङ्गै बसेर रमाउन कसलाई मन हुँदैन र ? तर बाध्यताले गर्दा प्रदेशी भूमिमा रगत र पसिना बगाउन बाध्य छन् लाखौलाख नेपाली नौजवानहरु ।

चाडवाडका बेलामा पनि आफ्ना बृद्ध बाबा, आमा, जहानबाला र इष्टमित्रसङ्ग सङ्गै बस्न नपाउने यस्तो दुष्ट चलन देशमा विद्यमान रहँदासम्म हामी कसरी रमाई रमाई नाच्न सक्छौ ? सकिँदैन फुलमती सकिँदैन ! त्यसैले त भन्दैछु ः भो अहिल्यै न नाच फुलमती ! त्यसरी नाच्ने बेला आएको छैन ।

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक बर्ष बितिसकेको छ । तर हाम्रो सरकारले अहिलेसम्म त्यो बलात्कारी हत्यारालाई पक्राउ गर्न सकेको छैन । तथ्यहरुले स्पष्ट सङ्केत गरेका छन्– त्यो बलात्कारी, हत्यारा को को हुन् भनेर, तर फुलमती, हाम्रो सरकार मुकदर्शक भएको छ ! अझ बिडम्बना ! देशको शान्तिसुरक्षाको मुख्य जिम्मा भएका गृहमन्त्री नै भनिरहेछ्न् ः निर्मला हत्याकाण्ड जस्ता घटनाहरु देशमा हिजो पनि घटेका थिए, आज पनि घटिरहेका छन् र भोलि पनि घटिरहने छन् … । यस्ता लाचार गृहमन्त्री भएको देशमा बलात्कारी÷हत्याराहरुले सजाय पाउँछन् भनेर कसरी विश्वास गर्नु फुलमती ? अहँ, म त विश्वास गर्न सक्दिन । निर्मला पन्तका आमाबाबाहरुको आँखाबाट अहिले पनि बलिन्द्रधारा आँसु बगिरहेका छन् । अरु कैयौ निर्मला पन्तहरु दिनडहाडै बलात्कृत हुने क्रम अहिले पनि रोकिएको छैन । एकथरी आमा, दिदीबहिनीहरु यसरी आँसुको पोखरीमा डुबिरहेका बेला मैले कसरी भनु तिमीलाई छमछमी नाच भनेर !!! अहँ, फुलमती म भन्न सक्दिन ! त्यसैले त भन्न बाध्य छु– भो अहिल्यै न नाच फुलमती ! तिमी खुलेर नाच्ने ब्यवस्था अझै आइसकेको छैन ।

फुलमती ! देशमा दण्डहीनता मौलाउँदै गएको छ । न्यायालयबाट न्याय पाउने आशा मर्दै मर्दै गइरहेको छ । निर्दोष आफ्नो छोराको हत्यारालाई कारवाही गर भन्दै अनशन बसेकै अवस्थामा गोर्खाको फुजेलका नन्दप्रसाद अधिकारीको मृत्यु भयो । बर्ष दिन बित्यो । उनको लाश अझसम्म अस्पतालको मुर्दाघरमै छ । आमा गङ्गामायाले अहिले पनि न्यायको भीख माग्दै सरकार, न्यायालय, मानवअधिकारकर्मी र शीर्ष नेताहरुको दैलो चहारिरहेकी छिन् । तर हाम्रो सरकारले अहिलेसम्म उनीहरुलाई न्याय दिन सकिरहेको छैन । त्यो त एक प्रतिनिधि घटना मात्र हो फूलमती ! न्याय नपाएर छटपटाइरहेका जनहरु यहाँ असंख्य छन् । बलात्कारी, हत्यारा, भ्रष्टाचारी, लुटेरा, अपराधीहरु खुलेआम छाती फर्काएर हिडिरहेका छन् । न्याय मर्दै मर्दै गइरहेका बेला डण्डहीनता मौलाउँदै गएका बेला म कसरी भन्न सक्छु तिमीलाई छमछमी नाच भनेर ?? अहँ, फूलमती ! म भन्न सक्दिन । त्यसैले त भन्दैछु– भो अहिल्यै न नाच फूलमती । तिमी हामी खुलेर नाच्नसक्ने, निर्धक्कसाथ बाँच्नसक्ने समय अझ आइसकेको छैन ।

फूलमती, एक्काइसौं शताब्दीको यो वैज्ञानिक युगमा पनि हाम्रो समाज भने १६ औं शताब्दीको मध्ययुगीन कुसँस्कारमा अल्झिरहेको घटनाहरु यत्रतत्र देख्न सकिन्छ । श्रम चल्ने, सीप चल्ने, रगत चल्ने तर उसले छोएको पानी नचल्ने !! छुवाछूत जस्तो घृणित प्रथा हाम्रो समाजमा अझै जीवित छ । बोक्सीको आरोपमा प्रताडित भएका, छाउपडी प्रथाका कारण अकालमै ज्यान गएका घटनाहरु अहिले पनि समाजमा घटी नै रहेका छन् । समाजको चेतनास्तर अझै नि उठ्न सकिरहेको छैन । हाम्रो मनमष्तिष्कमा डेरा जमाएर बसेको पितृसत्तात्मक सोच अझै नि निर्मूल हुनसकेको छैन । नारीलाई पैतलाको धुलो र दासी ठान्ने सामन्ती सोच अझै नि हाम्रो समाजमा विद्यमान छ । एउटी नारी जीवनभरि डरैडरमा बाँच्नुपर्ने थिति अझै नि उस्तै छ । बाल्यकालमा बाउको अधिनमा, यौवन अवस्थामा पतिको अधिनमा, बृद्धावस्थामा छोराको अधिनमा !! जीवनभरि पुरुषकै अधिन र डरमा बाँच्नुपर्ने ! मनुस्मृति नामक हाम्रो धार्मिक ग्रन्थले खिचिदिएको विभेदको त्यो रेखा अझै जीवित छ । आफ्नै भन्नेहरु बाट नारी जाति लुटिँदै, दमित हुँदै आएका असंख्य घटनाहरु छन् । हाम्रो समाजमा युगौंदेखि विद्यमान सामन्ती सँस्कृतिबाट नारीहरु शोषित, पीडित हुँदै आइरहेका छन् । अर्कोतर्फ साम्राज्यवादी पाश्चात्य छाडा सँस्कृतिले पनि नारीलाई खेलौना र विज्ञापनको साधन बनाइरहेको छ । ती दुबैखाले घातक सँस्कृतिलाई परास्त नगरिकन हामीले समतामूलक समाजको निर्माण गर्न सक्दैनौ फूलमती । त्यो समतामूलक समाज, त्यो विभेदमुक्त समाज अझै निर्माण भइसकेको छैन । त्यसकारण पनि म भन्न बाध्य छु– भो अहिल्यै न नाच फूलमती ! त्यो समतामूलक समाज, त्यो पूर्ण स्वतन्त्रतायुक्त समाज अझै निर्माण भइसकेको छैन ।

तर यसको अर्थ यो होइन कि फूलमती देशमा केही पनि परिवर्तन भएकै छैन । देशमा केही परिवर्तन अवश्य भएको छ । पहिले भन्दा अहिले समाज धेरै चेतनशील हुँदै पनि गएको छ । कुनै बेला यही समाजमा सतिप्रथा जीवित थियो । लोग्ने मरेपछि त्यही चितामा श्रीमति पनि जिउँदै जल्नुपर्ने प्रचलन यही समाजमा थियो । समयक्रमसङ्गै जनचेतनाले त्यो अमानवीय प्रथा मिल्काइदियो । नारीलाई अधिकार दिने सन्दर्भमा राज्यकै कानुन विभेदकारी थियो । त्यसमा अहिले धेरै नै सुधार भएको छ । चनमतीले कैयौ कुराहरु ठिकै भनेकी छिन् । उनको भनाइमा केही सत्यता अवश्य छ । अहिले तिमीले आफ्ना गुनासाहरु निर्धक्कसङ्ग राख्न सक्छ्यौ । आफ्ना पीडा र वेदनाहरु पोख्न सक्छ्यौ । पहिलेभन्दा धेरै स्वतन्त्रता अहिले तिमीलाई छ । देशबाट राणा शासन, पञ्चायती शासन, राजतन्त्रात्मक तानाशाही शासन हटिसकेका छन् । देशमा गणतन्त्र आइसकेको छ । तर फूलमती ! तिमी हामीले चाहेको, गरिब दिनदुःखीहरुको ब्यवस्था देशमा अझै आइसकेको छैन । पूर्ण स्वतन्त्रता अझै तिमीलाई प्राप्त छैन । तिमीलाई बाँध्ने जन्जिरहरु अझै नि सबै चुँडिएका छैनन् । सबै काला कानुनहरु अझै नि फेरिएका छैनन् । फेरिएका छन् त केवल कुर्सीमा बस्ने मान्छेहरु । शासन गर्ने मान्छे मात्र फेरिएका छन् । तिमी हामीले ब्यवहारमा अनुभूति गर्नेगरी कुनै परिवर्तन हुनसकेको छैन अझै । विभेदको खाडल अझ पुरिएको छैन । विभेदरहित समतामूलक समाज निर्माणका लागि त तिमी हामीले अझ धेरै पसिना बगाउनु जरुरी छ । समतामूलक त्यो समाज सजिलै निर्माण हुने छैन । काँढे तारको कठिनतम बाटो हामीले पार गर्नुपर्ने हुन्छ । यो व्यवस्थाले त तिमी हामीलाई दिने भनेकै पिरको पहाड हो । त्यो पहाड मनमा बोकेर छमछमी नाच्न को सक्छ र ? तिमी दोधारमा पर्नु स्वभाविकै हो । त्यसैले फूलमती ! त्यो समतामूलक समाज निर्माणका लागि आऊ हामी हातेमालो गरेर अघि बढौं । एउटा महासमरको यात्रामा । अनि त्यो विभेदरहित, समतामूलक समाजको निर्माणपश्चात नै तिमी नि खुलेर नाच्न सक्नेछौ । खुलेर हाँस्न सक्नेछ्यौ ।

फूलमती ! यो बेला गीत र सङ्गीतमा लागेका तिमीजस्ता कलाकर्मीहरुको कर्तव्य भनेको त्यही विभेदरहित समतामूलक समाज निर्माणका लागि गीत र सङ्गीतका माध्यमबाट पनि जनचेतना जगाउने र राज्यलाइ दवाव सिर्जना गर्ने हो । देश, समाज र परिवारप्रति जिम्मेवार नागरिक तयार गर्न गीत र सङ्गीतको माध्यमबाट घच्घच्याउने समय हो यो । यस सन्दर्भमा तिमीले चनमती, फूलमतीको माध्यमबाट गरेको प्रयास सराहनीय छ । उत्ताउला, तडक भडक र उच्छृङ्खल गीतहरुको बिगबिगी रहेको बजारमा चनमती, फूलमती आफ्नो एउटा छुट्टै पहिचान बोकेर आएको छ । यसको शब्द कोर्ने नेत्र अर्याल, लय दिने खेम सेन्चुरी, मीठो स्वर दिने शान्तिश्री परियार, ज्ञानु परियार र खेम सेन्चुरी, भिजुअल निर्देशन गर्ने शिव बिक, अभिनय र नृत्य गर्ने अञ्जली अधिकारी र शान्तिश्री परियार लगायतका कलाकारहरु सबैले आआफ्नो भूमिकामा न्याय नै गरेका छ्न । सबैको एकीकृत प्रयासबाट एउटा सन्देशमूलक राम्रो गीत बनेको छ । त्यसका लागि ती सबै कलाकारहरुलाई धन्यवाद नदिइरहन सकिँदैन । र, अझ विशेष धन्यवाद ‘फूलमती’ अर्थात शान्तिश्री परियारलाई । आगामी दिनमा पनि यस्तै सन्देशमूलक गीतहरु सुन्न र हेर्न पाइयोस् । अझ धेरै उन्नति र प्रगतिको हार्दिक शुभकामना ! copy from ehulaki.com