सुन्दरीजलमा मध्यरातमा समेत शिवभक्त

काठमाडौँ । साउन महिनाको तेस्रो सोमबार पनि शिव मन्दिरहरुमा भक्तजनहरुको घुईँचो लागेको छ ।

साउन महिनाको सोमबार ब्रत बसी भगवान शिवजीको पूजा आराधना गरे मनले चिताएको पुग्ने धार्मिक विश्वास रही आएको छ ।

साउन महिनामा भगवान शिवजीको विशेष महिना भएको हुनाले यस महिनामा शिव मन्दिरहरुमा पूजा गरे वर्षातका कारण हुने प्राकृतिक विपत्ति पनि टरेर जाने धार्मिक विश्वास रही आएको छ ।

साउन महिनाको सोमबार ब्रत बसे धर्म, अर्थ, काम र मोक्ष सबै प्राप्ती हुने भएकाले शिव मन्दिरहरुमा भक्तजनहरुले ब्रत बसी जल चढाएर पूजा गर्ने प्रचलन रहिआएको मन्दिरका पूजारीले बताएका छन् ।

यस्तै यो महिना शिवभक्तहरु बोलबम यात्रामा पनि निस्कन्छन् । बोलबम यात्राको क्रममा तिर्थालुहरु विभिन्न नदीनाला तथा जलासयमा गएर स्नान गर्ने तथा त्यहाँको जल लगेर शिव मन्दिरमा चढाउने गर्छन् ।

बोलबम यात्रीहरु साउनको तेस्रो सोमबारको स्नानका लागि सुन्दरीजल पुगेका छन् । सुन्दरीजलमा आइतबार रातिदेखि नै बोलबम यात्रीको घुइँचो लागेको थियो । त्यहाँ पुगेका बोलबम यात्रीले मध्यरातमा स्नान गरेका छन् । मध्यरातमा त्यहाँ स्नान गरेकाहरु पुनः यात्रामा निश्किए ।

देश सञ्चारबाट साभार