सुतेकै ठाउँमा सर्पले टोकेपछि दिदी बहिनीको ज्यान गयाे

दाङमा सर्पदंशबाट एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नं ७ भौवा नाका निवासी १० वर्षीया सुजु सार्की र उनकी १३ वर्षिया दिदी कस्मिरा सार्कीको सर्प दंशबाट मृत्यु भएको हो ।

स्थानीय शिवशक्ति माध्यामिक विद्यालयमा मृतक दिदीबहिनी कक्षा ७ र कक्षा ५ मा अध्यनरत थिए । दिदीबहिनीलाई बिहान ४/५ बजे सुतेकै ठाउँमा सर्पले टोकेको थियो । भारतसंग सीमाना जोडिएको विकट क्षेत्र भौवा नाकाबाट उनीहरुलाई उपचारको लागि सुरुमा भारतको शिरशियास्थित अस्पतालमा लगिएको थियो ।

त्यहाँ उपचार संभव नभएपछि उनीहरुलाई थप उपचारका लागि बहराईच लैजाँदै गर्दा बाटोमा नै उनीहरुको मृत्यु भएको हो । विकट क्षेत्र भएको हुँदा त्यहाँबाट लमहीस्थित अस्पताल सम्म आउन झन्डै ६/७ घन्टा लाग्ने गर्छ भने भारत तर्फ जाँदा दुई तीन घन्टामा पुग्न सकिने हुँदा उपचारका लागि भारततर्फ लगिएको थियो ।

स्वास्थ्य, यातायात, संचार लगायतको सुविधावाट बञ्चित भौवा नाका क्षेत्र जंगल क्षेत्र हो । एकाबिहानै दुबै दिदी बहिनीलाई सर्पले डसेपनि सुरुमा बिहानभर झारफुकको प्रयास गरेर ढिलागरी अस्पताल लैजाने गल्तीले गर्दा दुबै दिदी बहिनीको मृत्यु भएको हो ।